वीरगंज । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को मतगणना अन्तिम चरणमा पुगेको छ। देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये १६२ क्षेत्रको नतिजा आइसकेको अवस्थामा अब सबैको ध्यान बाँकी तीन क्षेत्र— संखुवासभा-१, इलाम-१ र गोरखा-१ मा केन्द्रित भएको छ।
यी क्षेत्रको नतिजाले संसदमा दलहरूको अन्तिम शक्ति सन्तुलन निर्धारण गर्नेछ। निर्वाचन आयोगका अनुसार हालको अवस्था यस्तो छ:
संखुवासभा-१: नेकपा (एमाले) का उम्मेदवार अर्जुन कुमार कार्की १०,१७७ मतका साथ अग्रस्थानमा हुनुहुन्छ। उहाँलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिङमा शेर्पाले ९,६४३ मतसहित पछ्याइरहनुभएको छ।
इलाम-१: नेपाली कांग्रेसका निश्कल राई १०,६१५ मतसहित अगाडि हुनुहुन्छ। उहाँ र श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ्ग लिम्बुबीच तीव्र प्रतिस्पर्धा छ। लिम्बु राईभन्दा केवल ३४२ मतले पछाडि हुनुहुन्छ।
गोरखा-१: राष्ट्रिय स्वतन्त्र पार्टीका सुदन गुरुङ २१,५५० मतका साथ फराकिलो अग्रतामा हुनुहुन्छ। उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रेम कुमार खत्रीले १२,६०० मत प्राप्त गर्नुभएको छ।
यी तीन क्षेत्रको परिणाम सार्वजनिक भएसँगै प्रत्यक्षतर्फको सबै १६५ सिटकै नतिजा प्राप्त हुनेछ। यसपटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले ऐतिहासिक सफलता हात पार्दै ठूलो दलको रूपमा उदय हुने संकेत देखाएको छ।
