काठमाडौँ । प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो भारी अग्रता कायमै राखेको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार करिब ८० लाख (७९,८९,८७७) मत गणना हुँदा रास्वपाले ३८ लाख ४९ हजार २८८ मत प्राप्त गर्दै पहिलो स्थान सुरक्षित गरेको हो।
यो मत संख्या दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसको तुलनामा झण्डै २५ लाखले बढी हो। कांग्रेस १३ लाख ३ हजार ९९५ मतका साथ दोस्रो स्थानमा छ भने नेकपा (एमाले) ११ लाख ४ हजार ११६ मतसहित तेस्रो स्थानमा खुम्चिएको छ।
यसपटकको निर्वाचनमा नयाँ शक्तिका रूपमा श्रम संस्कृति पार्टी उदाएको छ। उक्त पार्टीले २ लाख ७३ हजार ६ मत प्राप्त गर्दै पाँचौँ स्थान ओगटेको छ, जसलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। यता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने २ लाख ६८ हजार ५७५ मतसहित छैटौँ स्थानमा रहेको छ।
जारी मतगणनाले परम्परागत ठूला दलहरूको जनमतमा व्यापक गिरावट आएको र नयाँ शक्तिहरूप्रति मतदाताको आकर्षण बढेको संकेत गरेको छ।
