वीरगञ्ज । पर्सा जिल्लाको राजनीतिक इतिहासमा नयाँ मोड आएको छ। भर्खरै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको अन्तिम मत परिणामअनुसार पर्सा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वर्चस्व कायम गर्दै विजयी हासिल गरेको छ।
लामो समयदेखि स्थापित ठूला राजनीतिक दलहरूलाई पछि पार्दै रास्वपाले पर्सामा ‘क्लिन स्वीप’ गरेको हो। निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम तथ्यांकअनुसार रास्वपाका उम्मेदवारहरूले फराकिलो मतान्तरसहित जित निकालेका छन्।
अधिकांश क्षेत्रमा रास्वपाका उम्मेदवारहरूले दोस्रो स्थानका उम्मेदवारभन्दा १० हजारभन्दा बढी मतान्तरले जित हासिल गरेका छन्। मधेस प्रदेशको प्रमुख व्यापारिक केन्द्र मानिने पर्सामा रास्वपाको यस जितलाई मतदाताले ‘राजनीतिक परिवर्तन’ को रूपमा हेरेका छन्।
निर्वाचित उम्मेदवारहरूमध्ये अधिकांश राजनीतिमा नयाँ र व्यावसायिक पृष्ठभूमिका रहेका छन्, जसले मतदातामा थप उत्साह थपेको विश्लेषण गरिएको छ।
यस जितसँगै रास्वपाले तराई-मधेसका जिल्लाहरूमा पनि आफ्नो पकड बलियो बनाएको छ। वीरगञ्जमा विजयी उम्मेदवारहरूको समर्थकहरूले विजय जुलुससहित उत्सव मनाइरहेका छन्।
