वीरगंज । हाल जारी रहेको प्रतिनिधि सभा निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अभूतपूर्व प्रदर्शन गर्दै देशको प्रमुख राजनीतिक शक्तिका रूपमा उदाएको छ।
निर्वाचन आयोगको पछिल्लो तथ्यांक अनुसार, समानुपातिकतर्फ १२ लाख ६५ हजार ११५ मत कटाउँदै रास्वपाले आफ्नो अग्रतालाई फराकिलो बनाएको छ। त्यस्तै, प्रत्यक्षतर्फ पनि पार्टीले उल्लेखनीय सिट जितिसकेको छ भने थप २३ निर्वाचन क्षेत्रमा निरन्तर अग्रता कायम राखेको छ।
अहिलेसम्मको नतिजाले रास्वपा आगामी सरकार निर्माणमा निर्णायक र बलियो शक्तिका रूपमा स्थापित हुने संकेत गरेको छ। परम्परागत दलहरूको प्रभाव क्षेत्र मानिएका स्थानहरूमा समेत रास्वपा उम्मेदवारहरूले फराकिलो मतान्तरले जित हासिल गरेपछि यसलाई राजनीतिक विश्लेषकहरूले ‘रास्वपाको आँधी’ को संज्ञा दिएका छन्। मतगणना जारी रहेकाले अन्तिम सिट संख्या भने केही समयमा नै स्पष्ट हुनेछ।
