वीरगन्ज । पर्साको क्षेत्र नम्बर १ अन्तर्गत वीरगन्ज महानगरपालिका वडा नम्बर १५ को भेडियाही मतदान केन्द्रमा भारतीय परिचयपत्रसहित मतदान गर्न पुगेका एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारतीय आधार कार्ड र पहिचानपत्र बोकेका बृजेश साह सोनार रहेका छन्। निर्वाचन आयोगको मतदाता नामावलीमा क्रम संख्या ५६१७६१ र मतदाता नम्बर २५८४ उल्लेख भएका सोनार मतदान गर्न बुथमा पुगेका थिए।
उनको गतिविधि शंकास्पद देखिएपछि खानतलासी गर्दा साथमा भारतीय आधार कार्ड समेत फेला परेको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले पुष्टि गरेका छन् ।
नेपाली मतदाता नामावलीमा नाम भए तापनि भारतीय नागरिकताको प्रमाण भेटिएपछि उनलाई नियन्त्रणमा लिइएको छ। विदेशी नागरिक भएर पनि नेपाली मतदाता नामावलीमा कसरी नाम समावेश भयो भन्ने विषयमा गम्भीर प्रश्न उब्जिएको छ ।
प्रजिअ दाहालले मतदान गर्न गएका व्यक्ति पक्राउको विषयमा थप जानकारी लिन पर्साका प्रहरी उपरीक्षकसँग बुझ्न भनेका छन् । प्रहरी उपरीक्षक सुदीपराज पाठकलाई फोन गर्दा उनले फोन उठाएनन् । दोस्रो पटक फोन सम्पर्क गर्दा उनले फोनकल रिजेक्ट गरेका छन् ।
