काठमाडौँ – राष्ट्रिय मानवअधिकार आयोगले देशका ४२ जिल्लामा गरेको निर्वाचन केन्द्रित अनुगमनका क्रममा निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन भएको ठहर गरेको छ। आयोगले आइतबार एक विज्ञप्ति जारी गर्दै उम्मेदवार र दलहरूबाटै आचारसंहिताको पूर्ण पालना नभएको जनाएको हो।
राजनीतिक दलका र्याली र चुनावी सभाहरूमा बालबालिकालाई प्रयोग गरिएको पाइएको छ। दलका कार्यकर्ता र समर्थकहरूबाट सामाजिक सञ्जालमा गालीगलौज र भ्रामक सामग्री फैलाउने कार्य भइरहेको। मतदातालाई प्रभाव पार्न खोज्ने, अनुमतिविना सवारीसाधन प्रयोग गर्ने र व्यक्तिका निजी घरमा जबर्जस्ती झण्डा राख्ने प्रवृत्ति देखिएको छ।
पत्रकारहरूमाथि धम्की र कुटपिट हुनुका साथै स्थानीय र प्रदेश सरकारका पदाधिकारीहरू नै चुनावी प्रचारमा प्रत्यक्ष संलग्न भएको प्रतिवेदनमा उल्लेख छ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले निर्वाचनलाई मानवअधिकारमैत्री र भयरहित बनाउन सरकार, राजनीतिक दल र सम्बद्ध सबै पक्षलाई संयमता अपनाउन आग्रह गर्नुभएको छ।
यद्यपि, दलहरूबीचको आपसी सौहार्दता र सुरक्षा निकायको तयारीलाई भने आयोगले सकारात्मक पक्षका रूपमा लिएको छ।
