काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी नेपाली सेनाले देशभरको सुरक्षा व्यवस्थालाई अत्यन्त मजबुत बनाएको छ। निर्वाचन पूर्व, निर्वाचनका बेला र निर्वाचन पश्चात् गरी तीन चरणमा विभाजन गरिएको सुरक्षा योजनाअन्तर्गत सेनाले आफ्नो परिचालनलाई तीव्रता दिएको हो।
राष्ट्रिय सुरक्षा परिषद्को सिफारिस, मन्त्रिपरिषद्को निर्णय र राष्ट्रपतिको स्वीकृतिपछि परिचालित नेपाली सेनाले विगतका निर्वाचनहरूको अनुभवलाई समेत समेटेर यसपटकको सुरक्षा योजना तयार पारेको छ। सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार सेनाले निर्वाचन सुरक्षाका लागि आवश्यक तालिम र संयुक्त अभ्यासहरू सफलतापूर्वक सम्पन्न गरिसकेको छ।
मुख्यतया: सेनाले तेस्रो सुरक्षा घेरा मा रहेर जिम्मेवारी वहन गर्नेछ। यसका अतिरिक्त मतपत्र छपाइ स्थलको सुरक्षा र ७५ जिल्लामा सामग्री ढुवानी गर्ने कार्य लगभग पूरा भइसकेको छ। संवेदनशील क्षेत्रहरूमा हवाई गस्ती र थप फौजको परिचालन गरिनेछ।
निर्वाचन विथोल्न सक्ने शङ्कास्पद वस्तुहरू निष्क्रिय पार्ने टोलीहरू तयारी अवस्थामा रहेका छन्। कारागार, विमानस्थल र सरकारी कार्यालयसहित ११६ वटा महत्वपूर्ण संरचनाहरूको सुरक्षाको जिम्मा पनि सेनाले सम्हालेको छ।
निर्वाचन आयोगका अनुसार ७५ जिल्लामा निर्वाचन सामग्री पुगिसकेको छ भने बाँकी जिल्लाहरूमा भोलिसम्म ढुवानी भइसक्नेछ। भौगोलिक विकटताका कारण पाँच जिल्लामा हवाई मार्ग र अन्यमा स्थल मार्ग प्रयोग गरिएको छ। हिमाली भेगमा हिउँ पन्छाएर बाटो खोल्दै सेनाले सामग्री ढुवानी र जनमानसको सहजताका लागि समेत काम गरिरहेको छ।
प्रधानसेनापति अशोकराज सिग्देलले विभिन्न कमान्ड सेन्टर र फिल्डमा खटिएका फौजहरूको निरन्तर अनुगमन र निरीक्षण गरिरहनुभएको छ। प्रवक्ता बस्नेतका अनुसार सेनाले निर्वाचन आचारसंहिता र मानवअधिकारको पूर्ण पालना गर्दै निष्पक्ष र भयरहित वातावरणमा मतदान सम्पन्न गराउन पूर्ण प्रतिबद्धता व्यक्त गरेको छ।
“संयुक्त राष्ट्र सङ्घको शान्ति स्थापनार्थ विभिन्न द्वन्द्वग्रस्त मुलुकमा निर्वाचन गराएको अनुभव हामीसँग छ। सोही दक्षतालाई प्रयोग गर्दै नेपालमा पनि सुरक्षित निर्वाचन गराउन हामी तयार छौँ,” सैनिक प्रवक्ता बस्नेतले उल्लेख गर्नुभयो।
सरकारको दृढता र सुरक्षा निकायहरूको सक्रिय समन्वयले यसपटकको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुने विश्वास गरिएको छ।
