विर्तामोड । आगामी प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढ्दै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पूर्वमा आफ्नो चुनावी अभियानलाई तीव्र पारेको छ। पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्रीका दाबेदार बालेन्द्र शाह (बालेन) आज झापाका विभिन्न स्थानमा आयोजना हुने चुनावी सभाहरूमा सहभागी हुँदैछन्।
लामिछानेको सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार उनी आज बिहान ८ बजे चन्द्रगढी विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ। त्यसलगत्तै उनी पार्टीका उम्मेदवारहरूको पक्षमा माहोल बनाउन झापाका प्रमुख शहरहरूमा पुग्नेछन्।
त्यसपछि बिहान पौने ९ बजे काँकडभिट्टा, ९ बजे धुलाबारी रोड, साढे ९ बजे बिर्तामोड, १०ः२० बजे सुरुंगा चोक हुँदै ११ बजे दमकमा पुगेर चुनावी कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भएको छ।
इटहरीमा शक्ति प्रदर्शन झापाका कार्यक्रमहरू सकाएर रास्वपाको टोली आजै सुनसरीको इटहरी पुग्नेछ। इटहरीमा आयोजना हुने विशाल चुनावी सभालाई सभापति लामिछाने र बालेन शाह दुवैले सम्बोधन गर्ने बताइएको छ। काठमाडौँ महानगरपालिकाको मेयरबाट राजीनामा दिएर रास्वपामा आवद्ध भएका बालेनको उपस्थितिले यस क्षेत्रको चुनावी समीकरणमा थप उत्साह थपेको छ।
सभापति लामिछाने स्वयम् चितवन क्षेत्र नं. २ बाट तेस्रोपटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन्। आफ्नो निर्वाचन क्षेत्रमा व्यस्त रहे तापनि उनी देशभर पार्टीको संगठनात्मक शक्ति प्रदर्शन र उम्मेदवारहरूको मनोबल बढाउन देश दौडाहामा निस्किएका हुन्।
परम्परागत दलहरूको गढ मानिने पूर्वमा रास्वपाले यसपटक कस्तो नतिजा ल्याउँछ भन्ने कुरालाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।
