गौर । रौतहटको सदरमुकाम गौर नगरपालिका क्षेत्रमा दुई समुदायबिच उत्पन्न तनावलाई मत्थर पारी सामाजिक सद्भाव कायम गर्न जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय बैठक सुरु भएको छ।
जिल्ला प्रशासन कार्यालय रौतहटले स्थानीय राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज र सरोकारवाला पक्षहरूलाई सहभागी गराई छलफल अघि बढाएको हो। गौरमा देखिएको विवादलाई वार्ताका माध्यमबाट समाधान गर्न र शान्ति सुव्यवस्था कायम गर्न यो प्रयास गरिएको हो।
रौतहटका प्रमुख जिल्ला अधिकारी (CDO) दिनेश सागर भुसालका अनुसार प्रशासनको पहिलो प्राथमिकता जिल्लामा सद्भाव कायम गर्नु हो। उनले भने:
“हामी अहिले सबै पक्षसँग छलफल गरिरहेका छौँ। कसरी हुन्छ, समाजमा आपसी सद्भाव र शान्ति कायम गर्ने हाम्रो प्रयास जारी छ।”
विवाद र झडपको स्थिति नियन्त्रण बाहिर नजाओस् भनेर प्रशासनले लगाएको कर्फ्यु अहिले पनि जारी छ। स्थानीयलाई आवश्यक सामग्री खरिद र सहजताका लागि आज बिहान ६:३० देखि ८:३० बजेसम्म २ घण्टा कर्फ्यु खुकुलो पारिएको थियो। सो समय सकिएलगत्तै अर्को आदेश नआउन्जेलका लागि कर्फ्युलाई पुनः निरन्तरता दिइएको छ।
केही दिनअघि गौर क्षेत्रमा दुई समुदायबिच विवाद उत्पन्न भएको थियो। स्थिति तनावपूर्ण बनेपछि शान्ति सुरक्षाका लागि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो। प्रशासनले अफवाहमा नलाग्न र सामाजिक एकता कायम राख्न सबैलाई अपिल समेत गरेको छ।
