वीरगन्ज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार सीए अजय चौरसियाले वीरगन्ज महानगरपालिका वडा नम्बर ११ मा घरदैलो गरेका छन् ।
घरदैलोका क्रममा मतदाताहरूसँग कुराकानी गर्दै उम्मेदवार चौरसियाले वीरगन्जको अपेक्षित विकास हुन नसकेकोमा चिन्ता व्यक्त गरे । उनले वीरगन्ज देशकै मुख्य आर्थिक केन्द्र भए पनि यहाँको विकासको गति किन सुस्त भयो भन्नेबारे मतदाताहरूलाई सचेत गराएका थिए ।
उनले अबको समय गफ गर्नेको नभई काम गर्नेको भएको बताउँदै क्षेत्रको मुहार फेर्न र वास्तविक विकासका लागि युवा एवं योग्य उम्मेदवारलाई जिताउन जोडदार आग्रह गरे । उक्त घरदैलो कार्यक्रममा नेकपाका केन्द्रीय सदस्यहरू बाल गोपाल थापा, शेष चाँदतारा र बाबुराम कौशिकको विशेष उपस्थिति रहेको थियो।
त्यसैगरी नेताहरू रामदरश कुशवाहा, सुरेन्द्र गुप्ता, पूर्वप्राध्यापक हरि वैद्य, रूपा थापा, हिरा भट्टराई, विद्यार्थी नेता रामबाबु मण्डल लगायतका स्थानीय नेता तथा कार्यकर्ताहरूको ठूलो समूहले उम्मेदवार चौरसियालाई साथ दिएको थियो।
टोलीले वडाका विभिन्न टोलहरूमा पुगेर स्थानीय बासिन्दाहरूसँग साक्षात्कार गर्दै आगामी निर्वाचनमा तारा चिन्हमा मतदान गरी आफूलाई सेवा गर्ने मौका दिन अपिल गरेको छ।
