काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गरिबका बस्तीमा डोजर चलाउने भनी फैलाइएको हल्लाप्रति कडा आपत्ति जनाएका छन्। पार्टीको चुनावी बाचापत्र सार्वजनिक गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो दलले गरिबलाई विस्थापित नभई व्यवस्थापन गर्ने स्पष्ट पारेका हुन्।
सभापति लामिछानेले विरोधीहरूले जनतालाई तर्साउन यस्तो भ्रम फैलाएको दाबी गरे। “बस्तीमा डोजर चल्छ भनेर कतिपय मान्छेलाई तर्साउने काम भइरहेको छ,” उनले भने, “तर गरिबको बस्तीले चिन्ता लिनुपर्दैन; डोजर चल्यो भने त्यो भ्रष्टाचारीका महलहरूमा चल्नेछ।”
सम्बोधनका क्रममा लामिछानेले रास्वपाका उम्मेदवारहरूलाई जिताउन अपिल गर्दै जनतासँग एक रोचक वाचा पनि गरे। उनले थपे, “अहिले तपाईंहरू घण्टी बजाएर हामीलाई जिताउनुहोस्, यदि ५ वर्षमा हामीले केही गर्न सकेनौं भने त्यही घण्टीले हामीलाई राजनीतिक रूपमै बजाइदिनुस्।”
उनले आफ्नो पार्टीको मुख्य प्राथमिकता सुशासन र गरिबको उचित व्यवस्थापन रहेको उल्लेख गर्दै भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नीति लिने प्रतिबद्धता समेत दोहोर्याए।
