काठमाडौँ । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी ‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी गरेको छ। समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत हुने मतदान प्रक्रियालाई थप व्यवस्थित र प्रभावकारी बनाउन आयोगले यो कदम चालेको हो।
मतदाता नामावलीसम्बन्धी ऐन, २०७३ को दफा ४४ ले दिएको अधिकार प्रयोग गरी बनाइएको यस कार्यविधिले अस्थायी मतदाताको नामावली संकलन र मतदान प्रक्रियालाई कानुनी रूपमा व्यवस्थित गर्नेछ।
नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका संस्थामा कार्यरत कर्मचारी, सेना, प्रहरी, कारागारमा रहेका थुनुवा र कैदी, निर्वाचन कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मी, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारको नाम स्थायी मतदाता नामावलीमा समावेश हुनेछ ।
आयोगले अस्थायी मतदाता नामावली संकलनका लागि छुट्टै सूचना प्रकाशित गर्नेछ। उक्त सूचना राष्ट्रियस्तरका सञ्चारमाध्यमबाट समेत प्रसारण गरिने कार्यविधिमा उल्लेख छ। यदि कुनै योग्य व्यक्तिको नाम छुटेको छ वा विवरणमा त्रुटि भएमा, सम्बन्धित व्यक्तिले आवश्यक प्रमाणसहित प्रमुख नाम दर्ता अधिकारीसमक्ष निवेदन दिनुपर्नेछ। निवेदन प्राप्त भएपछि अधिकारीले जाँचबुझ गरी नाम समावेश गर्ने वा त्रुटि सच्याउने प्रक्रिया अघि बढाउनेछन्।
यस कार्यविधिको कार्यान्वयनसँगै सरकारी सेवामा रहेका र आफ्नो स्थायी ठेगानाभन्दा बाहिर खटिएका मतदाताहरूले समानुपातिकतर्फ मतदान गर्न पाउने सुनिश्चितता भएको छ। आयोगले चाँडै नामावली संकलनको कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेको छ।
