चितवन । भरतपुर विमानस्थलमा बुधबारदेखि विधिवत रूपमा हवाई इन्धन ‘रिफिलिङ’ सेवा सुरु गरिएको छ। नेपाल आयल निगम लिमिटेडले हवाई उडानको चाप बढेसँगै यात्रु र विमान कम्पनीहरूको सहजताका लागि यो सेवा सञ्चालनमा ल्याएको हो।
निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले भरतपुरमा हवाई यात्रा गर्नेहरूको सङ्ख्या र उडान सङ्ख्या बढेकाले रिफिलिङ काउन्टर स्थापना गरिएको जानकारी दिनुभयो।
निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार भरतपुरमा दुईवटा रिफिलिङ काउन्टर स्थापना गरिएको छ, जहाँबाट दैनिक २२ हजार लिटर हवाई इन्धन उपलब्ध गराउन सकिने छ । हाललाई लिमिटेडको सिनामङ्गल कार्यालयमा रहेका छ जना कर्मचारीमार्फत सेवा सुरु गरिएको उनले जानकारी दिए ।
यसअघि भरतपुर विमानस्थलमा इन्धन भर्ने सुविधा नहुँदा जहाजले काठमाडौँबाटै फर्कने इन्धन समेत बोकेर आउनुपर्ने बाध्यता थियो। इन्धन सेवा सुरु भएपछि निम्न सुधार हुने देखिएको छ। जहाजले इन्धनको भार कम बोक्न पाउने भएपछि काठमाडौँबाट आउँदा थप यात्रुहरू ल्याउन सकिनेछ। इन्धनकै अभावमा उडान प्रभावित हुने जोखिम कम हुने र जहाजको भार व्यवस्थापनमा प्राविधिक सहजता हुने उनले भने।
बुद्व एयरका स्टेसन म्यानेजर भक्तबहादुर बस्नेतका अनुसार अब जहाजले तेल बोकेर आउनुपर्ने समस्या समाधान भएको छ, जसले गर्दा उडान सञ्चालनमा ठुलो राहत पुग्नेछ।
भरतपुर विमानस्थल चितवनको प्रमुख हवाई केन्द्र हो, जहाँबाट दैनिक भरतपुर–काठमाडौँ र भरतपुर–पोखरा उडानहरू हुँदै आएका छन्। यो सेवाको सुरुवातसँगै भरतपुरको हवाई कनेक्टिभिटी अझ सुदृढ हुने अपेक्षा गरिएको छ।
