सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिकामा बुधबार राति भएको भीषण सवारी दुर्घटनामा दुई जना युवकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गएराति करिब ८ बजे ईश्वरपुर नगरपालिका–१३, बाँके–संग्रामपुर सडक खण्डको ठिल्ला नजिकै तीनवटा मोटरसाइकल एकापसमा ठोक्किएका थिए। दुर्घटनामा परेका बीआर ३० एआर ३४५८, बीआर ३० एपी ३८०९, एसपी सी ०६२३ तीनवटै मोटरसाइकल भारतीय नम्बर प्लेटका रहेका छन्।
दुर्घटनामा परी गम्भीर घाइते भएका मुकेश राय (३० वर्ष) र रामज्ञान राय (३० वर्ष) – हरिपुर्वा नगरपालिका–९, मिर्चैया दुई युवकलाई राति १० बजे मलंगवास्थित प्रादेशिक अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।
घाइतेहरूको लालबन्दीस्थित मोडेल अस्पतालमा सामान्य उपचार गरिएको छ। हाल उनीहरूलाई इलाका प्रहरी कार्यालय केशरगंजले नियन्त्रणमा लिएको छ।
सडकमा तीनवटा मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा देखेपछि स्थानीय र यात्रुले प्रहरीलाई खबर गरेका थिए। लगत्तै प्रहरी चौकी गौरीशंकरबाट प्रहरी सहायक निरीक्षक लिलानाथ मिश्राको कमाण्डमा टोली खटिएर घाइतेहरूको उद्धार गरेको थियो।
“तीव्र गतिका कारण मोटरसाइकलहरू एकापसमा ठोक्किएको प्रारम्भिक अनुमान गरिएको छ। मृतक र घाइतेहरू कुन–कुन मोटरसाइकलमा सवार थिए भन्ने खुल्न बाँकी छ,” प्रहरीले जनाएको छ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

