काठमाडौँ । जेनजी आन्दोलनकी अगुवा तनुजा पाण्डेले आफ्नो असफलता र अयोग्यता स्वीकार्न नसक्ने नेताहरूले विदेशी हस्तक्षेपको हौवा फिँजाउने गरेको बताएकी छन्। सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले राजनीतिक नेतृत्वमा देखिएको यो प्रवृत्तिमाथि कडा कटाक्ष गरेकी हुन्।
काठमाडौँको फोहोर व्यवस्थापन गर्न नसक्नुमा विदेशी हस्तक्षेप जिम्मेवार रहेको भनी हालै रास्वपा नेता बालेन्द्र साहले दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै पाण्डेले लेखेकी छन्— “आफ्नै अयोग्यता स्वीकार्ने साहस नभएकाहरूका लागि हरेक असफलताको दोष विदेशी हस्तक्षेपलाई दिनु सजिलो डिफेन्स हो।”
उनले एउटा सहरको फोहोर व्यवस्थापन जस्तो स्थानीय मुद्दामा समेत विदेशीलाई दोष दिएर पन्छिनेहरूले देश बनाउन सक्छन् भन्ने कुरा पत्याउन नसकिने तर्क गरेकी छन्। “विदेशी हस्तक्षेपको बहानामा एउटा फोहोर व्यवस्थापन समेत गर्न नसक्नेहरूले भोलि देश बनाइदिन्छन् भनेर धेरै विश्वास नगरौँ,” उनले सचेत गराएकी छन्।
पाण्डेले काम गर्न नसक्नेहरूले दिने तर्कभन्दा पनि त्यस्तो तर्कलाई अन्धभक्त भएर स्वीकार गर्ने समाजको प्रवृत्तिमाथि प्रश्न उठाएकी छन्। उनले भनेकी छन्— “यदि तपाईंले काम गर्न नपाउनुको कारण विदेशी हस्तक्षेप हो भने, अरूले पनि काम गर्न नपाउनुको कारण त विदेशी हस्तक्षेप नै होला नि! बोल्नेहरूभन्दा पनि पत्याइदिनेहरू देखेर झन् अचम्म लाग्छ।”
रास्वपा नेता बालेनले मेयर पदबाट राजीनामा दिएपछि फोहोर व्यवस्थापनमा बाह्य शक्तिको प्रभाव रहेको आशय व्यक्त गरेका थिए। पाण्डेको यो टिप्पणीले सामाजिक सञ्जालमा नयाँ र पुराना शक्तिबीचको कार्यक्षमता र जवाफदेहिताको विषयमा बहस छेडिदिएको छ।
