काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज (फागुन ४ गते) देखि राजनीतिक दल र उम्मेदवारहरूले औपचारिक रूपमा प्रचार–प्रसार गर्न पाउने भएका छन्। निर्वाचन आयोगका अनुसार उम्मेदवारहरूले अब जुलुस, आमसभा, कोणसभा र सञ्चारमाध्यम मार्फत आफ्ना चुनावी सामग्री प्रसारण गर्न सक्नेछन्।
प्रचारको समयसीमा आजदेखि सुरु भएको प्रचार–प्रसार आगामी फागुन १८ गते राति १२ बजेसम्म मात्र गर्न पाइनेछ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिता उल्लंघनका घटनामा ‘शून्य सहनशीलता’ अपनाइने बताउनुभएको छ। उल्लंघनको प्रकृति हेरेर जरिवानादेखि उम्मेदवारी खारेजीसम्मको कारबाही हुन सक्ने आयोगको चेतावनी छ।
दल र उम्मेदवारले अनलाइन माध्यम र पत्रपत्रिकामा विज्ञापन गरी प्रचार गर्न पाउनेछन्। तर, सामाजिक सञ्जालमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति (Hate Speech) दिन पाइने छैन। चुनावी सभा वा मञ्च तयारीका लागि भएको खर्चको विवरण उम्मेदवारले सम्बन्धित निर्वाचन कार्यालयमा बुझाउनुपर्नेछ।
आयोगले निर्वाचनको स्वच्छता र निष्पक्षता कायम राख्न सबै पक्षलाई आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरेको छ।
