बेनी । म्याग्दीमा आसन्न प्रतिनिधि सभा निर्वाचनसँगै चुनावी माहोल तातिएको छ। महावीर पुन परम्परागत शैली त्याग्दै घरदैलो अभियानमा जुटेका छन्। शिक्षामन्त्री पदबाट माघ ६ गते राजीनामा दिएर उम्मेदवारी दिएका उनले कार्यकर्ताको भीड र तामझाम बिना गाउँ–गाउँ पुगेर मतदातासँग भेटघाट गरिरहेका छन्।
उनी सामाजिक सञ्जालमार्फत दैनिक कार्यतालिका सार्वजनिक गर्दै “जहाँ पुग्यो, त्यहीँ बास” शैलीमा प्रचार गरिरहेका छन्। मत माग्दा समेत “मन लागे भोट देऊ, नलागे नदेऊ” भन्ने स्पष्ट अभिव्यक्तिले उनी चर्चामा छन्।
शिक्षा क्षेत्रमा कानुनी सुधारका लागि सांसद बन्न आवश्यक ठानेर चुनावमा आएको पुनको अभियानले मतदातामा नयाँ आशा जगाएको छ। म्याग्दीमा उनको फरक शैलीले कस्तो परिणाम ल्याउँछ भन्ने टुंगो फागुन २१ गतेको निर्वाचनले लगाउनेछ।
