काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगका अनुसार हालसम्म ६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रका लागि मतपत्र छपाई कार्य सम्पन्न भएको छ।
भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रमा गत पुस २२ गतेदेखि सुरु भएको छपाई प्रक्रिया अब केही जिल्लाहरूमा मात्र सीमित रहेको छ।
आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार हालसम्म १ करोड ७१ लाख ६३ हजार मतपत्र छापिसकिएको छ। अब काठमाडौं उपत्यका र आसपासका १४ जिल्लाको मात्र मतपत्र छाप्न बाँकी छ।
“बाँकी जिल्लाको मतपत्र छपाई आगामी तीन दिनभित्र सकिने अनुमान छ,” सहायक प्रवक्ता न्यौपानेले भने, “छापिएका मतपत्रहरूको प्याकिङ र रुजु गर्ने कार्य पनि सँगसँगै भइरहेको छ।”
आयोगले छपाई सम्पन्न भएका मतपत्रहरू दुर्गम र पहाडी क्षेत्रमा पठाउन सुरु गरिसकेको छ। शनिबारदेखि नै कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रका लागि मतपत्र ढुवानी सुरु गरिएको छ। जसमा सल्यान, रुकुम पश्चिम, डोल्पा, मुगु, हुम्ला, कालीकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेत रहेका छन्।
निर्वाचनको मिति नजिकिएसँगै आयोगले सुरक्षा व्यवस्था र जनशक्ति परिचालनको कामलाई पनि तीव्र बनाएको छ। उपत्यकाका बाँकी जिल्लाहरूको छपाई सकिएलगत्तै ती क्षेत्रमा पनि तत्कालै ढुवानी गरिने आयोगले जनाएको छ।
