गौर । रौतहटको सदरमुकाम गौरस्थित करदाता सेवा कार्यालयलाई सिमरा सार्ने सरकारी प्रयासको विरोधमा शुक्रबार गौर बजार तनावग्रस्त बनेको छ। स्थानीय व्यापारी, व्यवसायी तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको कडा प्रतिरोधपछि कार्यालयका सामग्री बोकेको ट्रक बीच बाटोबाटै फर्काइएको छ।
सरकारले गौरमा आफ्नै भवनबाट सञ्चालन हुँदै आएको करदाता सेवा कार्यालयलाई सिमरास्थित आन्तरिक राजस्व कार्यालयमा गाभ्ने तयारी गरेको थियो। व्यवसायीहरूका अनुसार कुनै पूर्वजानकारी बिना शुक्रबार बिहान कार्यालयका दराज, कम्प्युटरलगायत महत्त्वपूर्ण सामग्री ट्रकमा लोड गरी चुपचाप सार्ने प्रयास गरिएको थियो।
कार्यालयको सामग्री बोकेको ट्रक बजार क्षेत्रबाट निस्कन लाग्दा रौतहट उद्योग वाणिज्य संघ का पदाधिकारी तथा स्थानीय युवाहरूले बीच सडकमै ट्रक घेराउ गर्दै धर्ना दिएका थिए।
स्थिति तनावपूर्ण बन्दै गएपछि गौर बजार पूर्ण रूपमा बन्द गरिएको थियो। प्रदर्शन चर्किंदै जाँदा सम्भावित झडपको जोखिम बढेपछि अन्ततः ट्रकमा लोड गरिएका सामग्रीहरू पुनः अनलोड गरी कार्यालयमै फिर्ता गरिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
आन्दोलनमा विभिन्न राजनीतिक दलका स्थानीय नेताहरूले ऐक्यबद्धता जनाएका छन्।
उद्योग वाणिज्य संघका महासचिव सन्तोष केसरीले “निर्वाचनको मुखमा स्थानीयलाई जानकारी नै नदिई सेवा केन्द्र हटाउनु आपत्तिजनक भएको” बताए।
नेपाली काँग्रेस का नेता नितेशकुमार गुप्ताले गौरमै पूर्ण क्षमताको कार्यालय सञ्चालन हुनुपर्ने र कार्यालय सार्दा सेवाग्राहीले अनावश्यक सास्ती बेहोर्नुपर्ने धारणा राखे।
त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी का स्थानीय नेताहरूले निर्वाचनको पूर्वसन्ध्यामा गरिएको निर्णयले स्थानीय व्यवसायीलाई मारमा पार्ने भन्दै विरोध जनाएका छन्।
हाल गौर बजारका अधिकांश पसलहरू बन्द रहेका छन् भने व्यवसायीहरूले भन्सार कार्यालय अगाडि नाराबाजी जारी राखेका छन्। सम्भावित झडपलाई मध्यनजर गर्दै घटनास्थलमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
स्थानीय प्रशासनले वार्तामार्फत समस्या समाधानको प्रयास भइरहेको र स्थिति सामान्य बनाउने पहल जारी रहेको जनाएको छ।
