काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा पार्टीले उच्चस्तरीय संविधान पुनरावलोकन आयोग गठन, शासकीय स्वरूप र निर्वाचन प्रणालीमा सुधारलाई प्रमुख एजेन्डा बनाएको जनाएको छ।
जसपाले शिशु कक्षादेखि उच्च शिक्षासम्म निःशुल्क शिक्षा, भ्रष्टाचारमा शून्य सहनशीलता, वि.सं. २०४७ यताका उच्च पदाधिकारीहरूको सम्पत्ति छानबिन, फ्रि भिसा–फ्रि टिकट व्यवस्था कडाइका साथ लागू गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, पाँच वर्षभित्र गरिबी १० प्रतिशतमा झार्ने लक्ष्यसमेत लिएको छ।
