काठमाडौं । मन्थलीमा गत मंगलबार भएको भीषण बस दुर्घटनापछि अवरुद्ध रहेको यातायात सेवा क्षतिपूर्ति र सडक सुरक्षासम्बन्धी विभिन्न बुँदामा सहमति जुटेपछि पुनः सुचारु भएको छ।
बुधबार अबेरसम्म जिल्ला प्रशासन कार्यालयमा स्थानीय प्रशासन, नेपाल अरनिको यातायात सेवा प्रा.लि.का प्रतिनिधि र पीडित पक्षबीच भएको त्रिपक्षीय वार्ताले दुर्घटनापीडित परिवारलाई राहत उपलब्ध गराउने तथा भविष्यमा यस्ता घटना न्यूनीकरणका लागि कडा सुरक्षा उपाय लागू गर्ने सहमति गरेको हो।
सहमतिअनुसार दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई प्रचलित कानुनबमोजिम प्राप्त हुने क्षतिपूर्ति रकम नेपाल अरनिको यातायातले तत्काल उपलब्ध गराउनेछ। तामाकोशी नदीमा खसेर बेपत्ता भएका तीन यात्रुलाई समेत मृतक सरह नै मानी नियमानुसारको क्षतिपूर्ति प्रदान गरिने सहमति भएको छ।
पीडित पक्षले माग गरेबमोजिम थप सुविधा उपलब्ध गराउने विषयमा जिल्ला सुरक्षा समितिको रोहबरमा पुनः वार्ता गर्ने तथा आवश्यक सिफारिस गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा पठाइने जनाइएको छ।
दुर्घटनाका जिम्मेवार चालकमाथि प्रचलित कानुनबमोजिम कडा कारबाही प्रक्रिया अगाडि बढाइने प्रशासनले स्पष्ट पारेको छ।
भविष्यमा यस्ता भयावह दुर्घटना न्यूनीकरण गर्न प्रशासनले नयाँ सुरक्षा मापदण्ड लागू गर्ने प्रतिबद्धता जनाएको छ। जिल्ला भित्रिने र बाहिरिने नाकाहरूमा प्रहरीले अनिवार्य रूपमा यात्रुको सङ्ख्या तथा सवारी आवागमनको समय अभिलेख राख्ने व्यवस्था गरिनेछ।
चालकहरूले मदिरा वा अन्य नशालु पदार्थ सेवन गरे–नगरेको नियमित रूपमा ‘ब्रेथलाइजर’ प्रयोग गरी परीक्षण गरिनेछ। यात्रुको ज्यान जोखिममा पार्ने गरी लापरवाहीपूर्वक सवारी चलाएको पाइएमा सम्बन्धित सवारीको दर्ता खारेज गर्न सिफारिस गरिने चेतावनी समेत दिइएको छ। साथै जोखिमपूर्ण सडक खण्डहरूको तत्काल मर्मत र सुधारका लागि सम्बन्धित निकायलाई निर्देशन दिइएको प्रशासनले जनाएको छ।
“दुर्घटनापछि बेपत्ता भएकाहरूको खोजी कार्य अझै जारी छ। पीडित परिवारको मागलाई सम्बोधन गर्दै यातायात सुचारु गर्ने वातावरण बनेको छ,” स्थानीय प्रशासनले जनाएको छ।
मंगलबार काठमाडौंबाट ओखलढुङ्गाका लागि छुटेको बा प्र ००१–०५ ख ९९७५ नम्बरको बस मन्थली–६ स्थित त्रिवेणी पुल नजिकैबाट तामाकोशी नदीमा खस्दा १२ जनाको मृत्यु भएको थियो। दुर्घटनामा ८ जना घाइते भएका थिए भने तीन जना अझै बेपत्ता छन्।
बेपत्ता हुनेमा ९ वर्षीय क्रिचन तामाङ (मन्थली–२, पिप्ले), ८ वर्षीय रोनिश तामाङ (लिखु तामाकोशी–७, तिल्पुङ) र २४ वर्षीय विशाल सुनुवार (उमाकुण्ड–६, गुप्तेश्वर) रहेका छन्। उनीहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।

