सिरहा । सिरहा जिल्ला कारागारमा सोमबार सुरक्षा निकायले आकस्मिक छापा मार्दा हतियार, गोली र ठूलो परिमाणमा नगद बरामद भएको छ। कारागारभित्र अवैध गतिविधि सञ्चालन गरेको आरोपमा नाइके इन्द्रजित यादवसहित १३ जनालाई पक्राउ गरेपछि कारागारभित्रै कैदीबन्दीहरूले तोडफोड र आगजनी गरेका छन्।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको नेतृत्वमा सोमबार बिहान सञ्चालन गरिएको विशेष अपरेसनका क्रममा कारागारभित्रबाट एक थान कटुवा पेस्तोल र दुई राउन्ड गोली, १ लाख २० हजार रुपैयाँ (नाइके इन्द्रजित यादवको कोठाबाट) र चुरोट, सुर्ती, मदिरा र लागुऔषध जस्ता प्रतिबन्धित वस्तुहरू बरामद गरिएको छ।
जेल प्रशासनले नाइके इन्द्रजित यादवसहित १३ जनालाई नियन्त्रणमा लिएर हात र आँखामा पट्टी बाँधी बाहिर निकालेपछि उनका समर्थक कैदीबन्दीहरू आक्रोशित भएका छन्। उनीहरूले कारागारभित्रै सिरक र लुगाफाटाहरूमा आगो लगाउनुका साथै तोडफोड गरेका छन्।
केही कैदीहरू कारागारको छतमा चढेर प्रशासनविरुद्ध नाराबाजी गरिरहेका छन्। उनीहरूले “नाइके इन्द्रजितलाई फिर्ता गर”, “हाम्रो माग पूरा गर” र स्थानीय प्रशासन तथा प्रहरी प्रमुखविरुद्ध चर्को नाराबाजी गरेका थिए।
प्रशासनका अनुसार कारागारभित्र मदिरा र लागुऔषधको अवैध कारोबार, मोबाइलको अनियन्त्रित प्रयोग र चन्दाका नाममा जबर्जस्ती असुली भइरहेको विशेष सूचनाका आधारमा यो कदम चालिएको हो। पक्राउ परेका १३ जना कैदीहरू कर्तव्य ज्यान, डाका, अपहरण र लागुऔषध जस्ता गम्भीर आपराधिक मुद्दामा सजाय काटिरहेका व्यक्तिहरू हुन्। उनीहरूले जेलबाटै “भाग्ने योजना” बनाएको समेत आरोप लगाइएको छ।
घटनापछि कारागार परिसरमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको बाक्लो उपस्थिति रहेको छ। १५० जना अट्ने क्षमता भएको सिरहा कारागारमा हाल ४३६ जना कैदीबन्दी रहेका छन्। क्षमताभन्दा झण्डै तीन गुणा बढी कैदी राखिएका कारण कारागारको सुरक्षा व्यवस्थापन र आन्तरिक प्रशासनमा गम्भीर चुनौती देखिएको छ।
हाल पक्राउ परेका १३ जनालाई जिल्ला प्रहरी कार्यालय सिरहाको हिरासतमा राखिएको छ भने कारागारको स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको छ।
