बैतडी। बैतडीको पुर्चाैडी नगरपालिकामा जन्ती बोकेको बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। पुर्चाैडी नगरपालिका–७ को भौनीबाट बेहुली लिएर बझाङको सुनकुडातर्फ जाँदै गरेको सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस सोही वडाको बढ्गाउँ मोडमा दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार बस सडकबाट करिब २०० मिटर तल खसेको छ। दुर्घटनाको जानकारी पाउने बित्तिकै पुर्चाैडी र ढोल्यामोडबाट प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार कार्य सुरु गरेको थियो।
हालसम्म १५ जनाको उद्धार गरी नजिकैको स्वास्थ्य संस्थामा लगिएको छ। नेपाल प्रहरी र स्थानीय बासिन्दाहरुले संयुक्त रुपमा उद्धार गरिरहेका छन्। बस पुर्चाैडीबाट बेहुली लिएर बझाङतर्फ फर्किरहेको थियो।
“दुर्घटना भएको जानकारी पाएपछि प्रहरीको टोली खटिएको छ। स्थानीयहरूले पनि उद्धारमा सहयोग गरिरहेका छन्। १५ जनालाई स्वास्थ्य संस्था पठाइएको छ भने थप विवरण आउन बाँकी छ,” – डीएसपी दिपक कुमार राय, जिल्ला प्रहरी कार्यालय बैतडी।
अहिले घटनास्थलमा उद्धार कार्य जारी रहेको छ। भौगोलिक विकटता र बस धेरै तल खसेका कारण पूर्ण विवरण आउन समय लाग्ने प्रहरीले जनाएको छ। दुर्घटनाको स्पष्ट कारण अझै खुलेको छैन।
