काठमाडौं । करिब ७० तोलाको सुनचाँदीका गरगहना चोरी गरेको आरोपमा प्रहरीले काठमाडौंको नागार्जुन नगरपालिका–स्थित महांकालबाट एक जनालाई गोली हानेर पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार नेपालगन्ज घर भएका प्रेम थारुलाई गएराति करिब ११ः३० बजे नियन्त्रणमा लिन खोज्दा उनी भाग्न प्रयास गरेपछि प्रहरीले गोली प्रहार गरेको हो।
परिसरका प्रवक्ता पवन भट्टराईले बौद्ध क्षेत्रबाट हराएको सुनचाँदीका गरगहनासम्बन्धी अनुसन्धानका क्रममा थारुमाथि शंका लागेपछि चेकजाँच गर्न खोज्दा उनले प्रहरीमाथि आक्रमण गरेको जानकारी दिए। आक्रमणपछि स्थिति नियन्त्रणमा लिन बाध्य भएर प्रहरीले गोली चलाएको उनको भनाइ छ।
प्रहरीका अनुसार थारु यसअघि २०७९ सालमा चोरी मुद्दामा तीन वर्ष जेल सजाय भोगेर रिहा भएका थिए। गोली थारुको खुट्टामा लागेको र हाल उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
