काठमाडौँ, माघ २१ | नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचार र सिद्धान्तहीन ‘डिजिटल स्टन्ट’ले नेपाली राजनीति र समाजलाई गम्भीर संकटतर्फ धकेलिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्। आगामी फागुन २१ गते हुने निर्वाचनका लागि रुकुम पूर्वबाट उम्मेदवारी दर्ता गरी राजधानी फर्किएका दाहालले एक विशेष अन्तर्वार्तामा नयाँ भनिएका राजनीतिक शक्तिहरूको उदयलाई ‘विश्व साम्राज्यवादको रणनीतिक बाछिटा’को संज्ञा दिएका हुन्।
अन्तर्वार्ताका क्रममा दाहालले पछिल्लो समय सामाजिक सञ्जालमा चर्चा कमाउने नाममा भइरहेका गतिविधिले जनताको विवेकलाई भ्रमित गरिरहेको टिप्पणी गरे। उनले भने, “बिना विचारधारा र बिना मान्यता सोसल मिडियामा स्टन्ट गरेकै भरमा जनताको दिमाग खराब गर्ने प्रवृत्ति कुनै देशभक्त नेपालीको हुन सक्दैन।”
उनले यस्ता प्रवृत्तिलाई नवउदारवादी प्रणालीभित्रका ठूला पुँजीपतिहरूले आफ्नो स्वार्थ पूर्तिका लागि अगाडि सारेका ‘भुइँफुट्टा’ वर्गका रूपमा चित्रण गरे।
नयाँ शक्तिहरूलाई संकेत गर्दै दाहालले ती शक्तिहरू वास्तवमा नयाँ नभई विश्व साम्राज्यवादका पुराना एजेन्डा बोकेका पात्रहरू भएको दाबी गरे। “विश्वभर पुँजीवाद संकटमा छ र त्यसले आफ्नो दलाल तयार पार्न पपुलिस्ट (लोकप्रियतावादी) मान्छे खोजिरहेको छ, जसले उसको इशारामा जे पनि गरोस्,” उनले थपे।
उनले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको उदाहरण दिँदै कमजोर राष्ट्रहरूमा हैकम जमाउन वैदेशिक शक्तिहरूले यस्तै ‘मोडल’ प्रयोग गर्न खोजेको गम्भीर आरोप समेत लगाए।
परम्परागत दल र नेताहरूको आलोचना भइरहेको सन्दर्भमा प्रचण्डले दशकौँको संघर्ष, त्याग र बलिदानबाट स्थापित मूल्य मान्यतालाई रातारात विध्वंस गर्न खोज्ने तत्वहरूप्रति सचेत रहन आम नेपालीलाई आग्रह गरे। उनले भने:
“त्याग र निष्ठाको राजनीतिलाई निस्तेज पारेर पुराना नेता केही होइनन् भन्ने भाष्य बनाइँदैछ। आफ्नै आमाबाबुलाई रुवाउने छोराछोरीले देश बनाउँछन् भन्ने सोच्नु दुर्भाग्यपूर्ण हुन्छ।”
प्रचण्डले आफू र आफ्नो पार्टी अझै पनि असली गणतन्त्रवादी, संघीयतावादी र पहिचानवादी भएको दाबी गर्दै युवा पुस्तालाई भ्रमको पछि नलाग्न अपिल गरे। उनले ‘जेनजी’ (Gen Z) आन्दोलनका जायज मागलाई आफूले सधैँ सम्मान गर्ने तर परिवर्तनको नाममा अराजकता र इतिहासको बदनामी स्वीकार्य नहुने स्पष्ट पारे।
