काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि रुकुम (पूर्व) बाट उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। काठमाडौंमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले यसका मुख्य कारणहरू उल्लेख गर्नुभयो ।
रुकुम (पूर्व) को चुनवाङ बैठकले नै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको जग बसालेको र उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्ने निष्कर्ष निकालेको उहाँले स्मरण गर्नुभयो । राष्ट्रलाई एकजुट बनाउन र देशभर समाजवाद निर्माणको नयाँ लहर ल्याउन रुकुम (पूर्व) उपयुक्त थलो भएको उहाँको दाबी छ।
यसअघि रोल्पाबाट निर्वाचन लडिसकेको हुनाले यसपटक रुकुम (पूर्व) रोजेको उहाँले स्पष्ट पार्नुभयो । आफ्नो प्रधानमन्त्रीकालमा जनयुद्धका शहीदहरूलाई राष्ट्रिय शहीदको मान्यता दिएको र त्यसको पूर्ण कार्यान्वयनका लागि काम भइरहेको उहाँले बताउनुभयो।
देश हाल ‘जेन-जी’ (Gen-Z) आन्दोलनपछिको जटिल राजनीतिक अवस्थामा रहेको उहाँको विश्लेषण छ।
