काठमाडौं । महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवार सवार निजी चार्टर्ड विमान बुधबार बिहान बारामतीमा दुर्घटनाग्रस्त भएको छ। बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा रनवेबाट चिप्लिएर विमान दुर्घटना भएको हो।
प्रारम्भिक जानकारी अनुसार, उपमुख्यमन्त्री पवार जिल्ला परिषद् निर्वाचनसँग सम्बन्धित राजनीतिक कार्यक्रममा सहभागी हुन बारामती जाँदै थिए। विमानमा पवारसँगै उनका निजी सहायक, सुरक्षाकर्मी र चालक दलका सदस्यहरू सवार थिए। दुर्घटनामा उपमुख्यमन्त्री अजित पवार गम्भीर घाइते भएको बताइएको छ। विमानमा सवार अन्य व्यक्तिहरू पनि चोटपटक लागेको अवस्थामा भेटिएका छन्।
विमान अवतरणकै क्रममा दुर्घटनामा परेको भए पनि यो ‘क्र्यास ल्यान्डिङ’ हो वा कुनै प्राविधिक खराबीका कारण भएको हो भन्नेबारे अनुसन्धान भइरहेको छ। दुर्घटनास्थलबाट प्राप्त तस्बिर र भिडियोहरूमा विमानमा भीषण आगलागी भएको र बाक्लो धुवाँ उडिरहेको देखिएको छ। विमानका टुक्राहरू रनवे आसपास छरपस्ट अवस्थामा रहेका छन्।
घटना लगत्तै स्थानीय प्रशासन, एम्बुलेन्स र मेडिकल टोली घटनास्थलमा पुगेका छन्। ठूलो संख्यामा स्थानीय बासिन्दाहरूले पनि उद्धारमा सहयोग गरिरहेका छन्। घाइतेहरूलाई तत्काल नजिकैको अस्पतालमा लगिएको छ। उपमुख्यमन्त्रीको स्वास्थ्य अवस्थालाई लिएर समर्थक र राजनीतिक वृत्तमा चिन्ता छाएको छ। घटनाबारे विस्तृत विवरण आउन बाँकी छ र नागरिक उड्डयन विभागले यसबारे औपचारिक छानबिन सुरु गर्ने तयारी गरेको छ।
