गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट गोरखा क्षेत्र नं. १ का उम्मेदवार सुदन गुरुङले गत भदौमा भएको ‘जेनजी आन्दोलन’का क्रममा सुरक्षा निकायको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन्। ‘हामी नेपाल’का संस्थापक समेत रहेका गुरुङले सोमबार बिहान सामाजिक सञ्जालमार्फत आन्दोलनमा पहिले सुरक्षाकर्मीबाट गोली चलेको दाबी गरेका हुन्।
आन्दोलनका क्रममा भएको भौतिक क्षतितर्फ संकेत गर्दै गुरुङले सुरक्षाकर्मीको दमनपछि मात्रै स्थिति नियन्त्रणबाहिर गएको बताएका छन्। उनले लेखेका छन्, “गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो। बच्चाहरू सुरुमा ढलेका हुन्, त्यसपछि मात्र संरचना बलेको हो। स्मरण रहोस्!”
गुरुङका अनुसार सुरुमा आन्दोलन पूर्ण रूपमा शान्तिपूर्ण थियो, तर बल प्रयोग भएपछि मात्र विध्वंसात्मक गतिविधि भएका हुन्। उनले सरकार र सुरक्षा संयन्त्रको रणनीतिका कारण ठुलो क्षति भएको भन्दै त्यसको जिम्मेवारी राज्यले लिनुपर्ने संकेत गरेका छन्। फागुन २१ को निर्वाचन नजिकिँदै गर्दा रास्वपाका उम्मेदवारले उठाएको यो विषयलाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ।
जेनजी आन्दोलनको अगुवाको रूपमा परिचित बनेका गुरुङ यतिबेला गोरखा–१ मा चुनावी अभियानमा व्यस्त छन्। उनको यो पछिल्लो अभिव्यक्तिले सामाजिक सञ्जाल र राजनीतिक क्षेत्रमा नयाँ बहस सिर्जना गरेको छ।
