नेपालगन्ज | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) चुनावी अभियानको सिलसिलामा पश्चिम नेपालको भ्रमणमा निस्किएका छन्। पश्चिम तराईका विभिन्न कार्यक्रमहरूमा सहभागी हुन उनी सोमबार अपराह्न नेपालगन्ज पुगेका हुन्।
नेपालगन्ज विमानस्थलमा ओर्लँदा उनलाई स्वागत गर्न रास्वपाका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूको ठूलो भिड लागेको थियो। स्वतन्त्र राजनीतिबाट चर्चामा आएका बालेनलाई हेर्न र भेट्न विमानस्थलमा सर्वसाधारणको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।
आजको कार्यतालिका नेपालगन्जमा रात बिताएपछि बालेन आज (मंगलबार) बर्दियातर्फ प्रस्थान गरेका छन्। उनले बर्दिया क्षेत्र नम्बर १ का रास्वपा उम्मेदवार ठाकुरसिंह थारूको चुनावी प्रचारप्रसार र घरदैलो कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ।
बर्दियामा चुनावी सरगर्मी उम्मेदवार ठाकुरसिंह थारूका अनुसार बालेनले आज बर्दियाका विभिन्न गाउँहरूमा पुगेर मतदाताहरूसँग भेटघाट गर्नेछन्। स्मरण रहोस्, थारू केही समयअघि मात्रै नागरिक उन्मुक्ति पार्टी छोडेर रास्वपामा प्रवेश गरी उम्मेदवार बनेका हुन्। बालेनको उपस्थितिले बर्दियामा रास्वपाको चुनावी अभियानमा थप ऊर्जा थपिने विश्वास गरिएको छ।
