वीरगन्ज। प्रेस सेन्टर नेपाल पर्साले संगठनको स्थापना दिवसको अवसरमा आगामी माघ १५ गते वीरगन्जमा विविध कार्यक्रमहरू आयोजना गर्ने निर्णय गरेको छ।
संगठनको पर्सा शाखाको शनिबार बसेको बैठकले माघ १५ गते स्थापना दिवस भव्य रूपमा मनाउन विभिन्न कार्यक्रमहरू तय गरेको छ । प्रेस सेन्टर पर्साका अध्यक्ष शिवनाथ यादवका अनुसार माघ १५ गते स्थापना दिवसको दिन बिहान वीरगन्ज नगरको मुख्य भागमा प्रभातफेरी आयोजना गरिने र मानवीय सेवाका लागि रक्तदान कार्यक्रम सञ्चालन गरिनेछ ।
त्यस्तै आसन्न निर्वाचनको सन्दर्भमा नेपाली कम्युनिष्ट पार्टीका पर्साबाट प्रतिनिधि सभामा उम्मेदवारहरूसँग विशेष अन्तर्क्रिया कार्यक्रम गरिने पनि निर्णय गरेको सचिव अजित भूजेलले जानकारी दिए । बैठकमा बोल्दै प्रेस सेन्टर मधेश प्रदेशका अध्यक्ष निरज पिठाकोटे मगरले संगठनको नीति–नियम र आगामी कार्यदिशाबारे प्रष्ट पारेका थिए ।
त्यस्तै, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले पत्रकारिताको मर्यादा कायम राख्न पत्रकार आचारसंहिता र निर्वाचनको समयमा निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने कुरामा जोड दिएका थिए ।
अध्यक्ष शिवनाथ यादवको अध्यक्षतामा सम्पन्न सो बैठकमा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य सन्तोष पौडेल, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सचिव तथा प्रेस सेन्टर पर्साका सल्लाहकार दिपक गौतम, प्रेस सेन्टरका नेता जगत राई लगायत अन्य सदस्यहरूको सक्रिय उपस्थिति रहेको थियो ।
