वीरगन्ज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार अजय चौरसियाले आफूले जनताको सेवा गर्न उम्मेदवारी दिएको बताएका छन् ।
प्रेस सेन्टर नेपाल पर्साले आयोजना गरेको उम्मेदवार परिचयात्मक कार्यक्रममा बोल्दै चौरसियाले आफूलाई मत दिएर जिताएमा जनताको निःशुल्क सेवा गर्ने बताए । उनले भने, ‘मैले उम्मेदवार बन्न टिकट फ्रि मा पाएको छु, अब जनताले भोट पनि फ्रि मा दिनुपर्छ । अनि जनताको सेवा पनि म फ्रि मा गर्न सक्छु ।’
निर्वाचन लड्न टिकटको लागि पैसाको खोलो बगाउनेहरु पनि उम्मेदवार भएकोले अत्यन्तै महंगो निर्वाचन भएको अवस्थामा पनि आफूले निःशुल्क टिकट पाएकोले नै जनताले पनि निःशुल्क मत दिनुपर्ने जिकिर गरे ।
उनी भन्छन, ‘सबैले भन्छन् शिक्षित युवा र योग्य उम्मेदवार अरु पार्टीमा पनि टिकट पाउथ्यो होला किन नेकपाकै टिकट लिनुभयो भनेर सोध्छन्, मैले भन्ने गरेको छु– मैले टिकट लिनका लागि पैसा तिर्नुपरेन । फ्रि मै टिकट पाएपछि म जनताको सेवाका लागि फ्रि मा नै खट्न सजिलो भयो । अब मलाई जिताउने क्षेत्र नम्बर १ का मतदाताको हातमा छ ।’
पर्साको छिपहरमाई गाउँपालिकाका स्थायी वासिन्दा चौरसियाको पारिवारिक पृष्ठभूमि हेर्दा उनी सामान्य सरकारी कर्मचारी परिवारबाट आएका हुन् । उनका हजुरबुवा सरकारी कर्मचारी थिए । उनका बुवा निजी उद्योगमा काम गर्छन् ।
तेस्रो पुस्ताका चौरसिया पेशाले चाटर्ड एकाउण्टेण्ट हुन् । उनी अधिवक्ता पनि हुन् । उनका परिवारमा चारजना चाटर्ड एकाउण्टेण्ट (सिए) छन् । उनको आफ्नै लेखापरीक्षण कम्पनी छ । काठमाडौ र वीरगन्जमा गरी उनले सयौंलाई रोजगारी पनि दिएका छन् ।
उनी भन्छन्, ‘म आर्थिक रुपमा सम्पन्न भएको छु । यो मेरो आफ्नो बौद्धिक क्षमताले पनि यहाँसम्म पुगेको छु । म कुनै पैसाको लोभ र कमाउने उद्देश्यले आएको होईन । सांसदले पाउने सेवा सुविधा जतिको आम्दानी चारवटा कम्पनीको लेखा परीक्षणमा हस्ताक्षर ग-यो भने हुन्छ । म सँग भएको ज्ञान, सीप र क्षमता राज्यको नीति निर्माण तहमा पुगेर प्रयोग गरी देशको आर्थिक विकास कसरी गर्न सकिन्छ भन्ने सोचमा जनताको सेवा गर्न आएको हुँ।’
अर्थ व्यावस्था बुझ्ने, नीति नियम र कानून जान्ने र काम गर्ने युवा देशको लागि चाहिएको जनताले महशुस गरेका छन् । ती सबै कुरामा आफू योग्य रहको उनको दावी छ । उनी थप्छन्, ‘म नेपाल र भारत दुईवटा देशबाट चाटर्ड एकाउण्टेण्ट पास गरेको व्यक्ति हुँ । कानूनमा स्नातक गरेको पनि व्यक्ति हुँ । देशका ७० प्रतिशत कानून चाटर्ड एकाण्टेण्ट मै जानिसकेको हुन्छ । बाँकी ३० प्रतिशत गणितीय हिसाब हुन्छ ।
त्यसैले मलाई देशको अर्थतन्त्र र कानूनको विषयमा आफू योग्य ठानेको छु । बाँकी जनता अर्थात मतदाताको हातमा छ ।’ जनताले पार्टीकै विचार र सिद्धान्तलाई हेरेपनि देशलाई संकटमा पु¥याउने र देश खरानी पार्ने भन्दा यसको निकास र विकासतर्फ लाने पार्टीको नेतृत्वकर्ता पनि नेकपा नै भएकोले पनि पार्टीको विषयमा पनि कुनै अन्योलमा नपर्न चौरसियाको आग्रह छ ।

