दाङ। जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत एक प्रहरी जवान मृत अवस्थामा फेला परेका छन्। घोराही उपमहानगरपालिका–२ रामपुर निवासी हरी जिसी घोराही–१८ स्थित घरडौराको जङ्गलमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्।
प्रहरीका अनुसार जिसी यही माघ ८ गते बिहानको ड्युटी सकेर आफ्नो स्कुटी लिएर निस्किएका थिए। त्यसपछि तीन दिनसम्म बेपत्ता भएका उनको खोजी गर्ने क्रममा जङ्गलमा शव फेला परेको हो। उनको स्कुटी यसअघि नै बाटोमा बेवारिसे अवस्थामा भेटिएको थियो।
स्रोतका अनुसार मृतक जिसीका बुबाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा आईसीयू (ICU) मा उपचार भइरहेको थियो। बुबाको अवस्था गम्भीर रहेकाले उनले कार्यालयसँग बिदा माग गरेका थिए। तर, बिदा नपाएपछि उनी केही समयदेखि मानसिक तनावमा रहेको बुझिएको छ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख, प्रहरी उपरीक्षक (SP) दीपक श्रेष्ठले घटनाको पुष्टि गर्दै शवको पोस्टमार्टम भइसकेको जानकारी दिए। उनले भने:
“शवको पोस्टमार्टम भइसकेको छ। हामीले उनको मोबाइल बरामद गरेका छौँ। मोबाइलको लक खुलेपछि र थप अनुसन्धान सकिएपछि मात्रै मृत्युको वास्तविक कारण खुल्नेछ।”
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
