विराटनगर । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कोसी प्रदेशका ८ जना जनप्रतिनिधिको नाम मतदाता सूचीबाट हटाइएको छ। आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका र अन्य प्राविधिक कारणले उनीहरूको नाम हटाइएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।
मतदाता सूचीबाट प्रदेश सभा सदस्य भक्ति सिटौला (राप्रपा), प्रमुख/अध्यक्ष: हर्क साम्पाङ (धरान), दिलिप बगडिया (रंगेली), रणबहादुर राई (सूर्योदय), असिम राई (थुलुङ दूधकोशी), मेजर राई (लिम्बचुङबुङ) र जयनारायण साह (झापा गाउँपालिका – निलम्बित) र उपाध्यक्ष अस्मिता थापा (लिखु गाउँपालिका) हटाएकाे छ।
८ जना मतदाता घटेसँगै कोसी प्रदेशको कुल मतभार १८६ अंकले घटेर अब १० हजार १३५ कायम भएको छ। कोसीका रिक्त ३ पदमध्ये खुल्ला तर्फका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध भइसकेकाले अब महिला र दलित सदस्य पदका लागि मात्र मतदान हुनेछ। मतदान आइतबार बिहान १० देखि ३ बजेसम्म विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा हुनेछ।

