वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले नेपालकै पहिलो रेल सेवा (रक्सौल–अमलेखगञ्ज) को सम्झनामा ‘रेल्वे म्युजियम’ निर्माण गर्ने प्रक्रिया अघि बढाएको छ। बीपी उद्यान नजिकै रहेको खाली जग्गामा शनिबार वृहत् सरसफाइ गर्दै म्युजियम निर्माणको औपचारिक तयारी सुरु गरिएको हो।
मेयर राजेशमान सिंहले चालू आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा रेल्वे सेवाको १०० वर्ष पुगेको अवसरमा ऐतिहासिक संरचना संरक्षण गर्न म्युजियम बनाउने घोषणा गरेका थिए। सोही योजना कार्यान्वयनका लागि महानगरपालिका, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त सहभागितामा उक्त स्थानको झाडी र रुख फाँडेर क्षेत्र खाली गरिएको छ।
सरसफाइ कार्यक्रममा मेयर सिंहसहित पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल र अन्य सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो। यो म्युजियम बनेपछि वीरगञ्जको ऐतिहासिक पहिचान जोगिनुका साथै पर्यटन प्रवर्द्धनमा समेत ठूलो सहयोग पुग्ने विश्वास लिइएको छ।
