वीरगञ्ज । पर्साकी १९ वर्षीया आयुषा कापरीले व्यावसायिक पाइलट बनेर जिल्लाकै सबैभन्दा कान्छी पाइलटको कीर्तिमान रचेकी छन्। वि.सं. २०६१ असार १५ गते वीरगञ्जमा जन्मिएकी आयुषाले संयुक्त राज्य अमेरिकाबाट पाइलटको कठिन अध्ययन र प्रशिक्षण सफलतापूर्वक पूरा गरेकी हुन्।
सामान्य पारिवारिक पृष्ठभूमिबाट आएकी आयुषाका बुबा बिरेन्द्र कापरी नेपाल आयल निगममा कार्यरत छन्। सीमित स्रोतका बाबजुद परिवारको दरिलो साथ र मामा उमेश धिमालको प्राविधिक मार्गदर्शनले आफ्नो सपना साकार भएको आयुषा बताउँछिन्।
पुरुषप्रधान मानिने उड्डयन क्षेत्रमा कम उमेरमै अन्तर्राष्ट्रिय स्तरको दक्षता हासिल गरेकी आयुषाले पर्सा मात्र नभई देशभरका युवतीहरूका लागि प्रेरणाको स्रोत बनेकी छन्। उनको यो उपलब्धिले नेपाली महिलाको साहस र क्षमतालाई विश्वस्तरमा चिनाएको छ।
