वीरगन्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध भरुवा बन्दुक र गोलीसहित एक जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा पर्सागढी नगरपालिका वडा नं। १ बस्ने ३८ वर्षीय जय नारायण खवास रहेका छन्।
बिहीबारराति करिब पौने दश बजेको समयमा पर्सागढी–१ स्थित कोइलाभार गाउँमा झै–झगडा भइरहेको विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोस्ट मनवाबाट प्रहरी टोली खटिएको थियो।
घटनास्थलमा पुग्दा खवासले मादक पदार्थ सेवन गरी स्थानीय व्यक्तिहरूलाई गालीगलौज तथा हो–हल्ला गरिरहेको अवस्थामा भेटिएका थिए।
प्रहरीले खानतलासी गर्दा उनको साथबाट अनुमति पत्र (लाइसेन्स) नभएको एक थान भरुवा बन्दुक र १३ राउण्ड गोली फेला पारेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए ।
बरामद हतियार र गोलीसहित खवासलाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
