काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ अहिलेसम्म २ हजार ९२५ जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार मनोनयन दर्ता प्रक्रिया उत्साहजनक र शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो ।
दर्ता भएका उम्मेदवारमध्ये ३३६ जना (११ प्रतिशत) महिला र २ हजार ५८९ जना (८८ प्रतिशत) पुरुष छन् । यस्तै, अपाङ्गता भएका ८५ र पिछडिएको क्षेत्रका १३८ जनाको उम्मेदवारी परेको छ ।
मनोनयन दर्ता सफलतापूर्वक सम्पन्न भएकोमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले धन्यवाद व्यक्त गर्दै बाँकी निर्वाचन कार्यक्रम पनि सहयोगपूर्ण हुने अपेक्षा व्यक्त गरेका छन् । उम्मेदवारको प्रारम्भिक विवरण आयोगले मङ्गलबार राति सार्वजनिक गर्ने जनाएको छ ।
