काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उम्मेदवारी मनोनयन दर्ता गर्न जाँदा बाजागाजासहित तडकभडक नगर्न राजनीतिक दल र उम्मेदवारहरूलाई चेतावनी दिएका छन्।
सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै आयुक्त भण्डारीले कानुन र निर्वाचन आचारसंहिताले यस्ता गतिविधिहरूलाई पूर्ण रूपमा निषेध गरेको स्मरण गराए।
आचारसंहिता उल्लंघन गर्ने जोकोही विरुद्ध आयोगले कठोर निर्णय लिने चेतावनी दिइएको छ। उम्मेदवारहरूलाई निष्ठापूर्वक र संयमित भएर मनोनयन पत्र दाखिल गर्न आग्रह गरिएको छ।
तडकभडकरहित मनोनयनले नै निर्वाचन स्वच्छ, स्वतन्त्र र निष्पक्ष छ भन्ने सन्देश विश्वभर दिने आयोगको विश्वास छ। आचारसंहिताको पूर्ण पालना भएमा मात्रै भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न हुने दाबी गरिएको छ।
आयोगले निर्वाचनको स्वच्छता कायम राख्न कुनै पनि शंका-उपशंका नगर्न सरोकारवालाहरूलाई आग्रह समेत गरेको छ।
