काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सातै प्रदेशमा सुरक्षा गोष्ठी सम्पन्न भएका छन्। गृह मन्त्रालय र प्रदेश सरकारको संयुक्त आयोजनामा मंसिर ९ गते लुम्बिनीबाट सुरु भएको यो गोष्ठी मंगलबार मधेस प्रदेशको जनकपुरमा पुगेर समापन भएको हो।
निर्वाचनका लागि सरकारले ‘एकीकृत सुरक्षा योजना–२०८२’ कार्यान्वयनमा ल्याएको छ। यसपटकको निर्वाचनमा सुरक्षाकर्मी परिचालन ८८ हजार नेपाली सेना, ७७ हजार नेपाल प्रहरी र करिब ३४ हजार सशस्त्र प्रहरी परिचालन गरिनेछ भने निर्वाचन (म्यादी) प्रहरीमा १ लाख ३३ हजार ९८० भर्ना प्रक्रिया अघि बढाइएको छ।
कुल मतदानस्थलहरूलाई नेपाल प्रहरीले अति संवेदनशील, संवेदनशील, सामान्य गरी तीन तहमा वर्गीकरण गरेको छ। अति संवेदनशीलमा ३,६८०, संवेदनशीलमा ४,४४२ र सामान्यमा २,८४५ छन ।
जनकपुरमा आयोजित गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुने स्पष्ट पार्दै चारवटै सुरक्षा निकायलाई उच्च सतर्कताका साथ परिचालन हुन निर्देशन दिनुभएको छ।
