वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका वडा नं. १, गम्हरीयामा रहेका अति विपन्न, वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति तथा सीमान्तकृत समुदायका साधु(सन्तहरूलाई चिसोबाट बच्न न्यानो कम्बल वितरण गरिएको छ।
रामाकान्त अग्रवालको पूर्ण आर्थिक सहयोग र उपकार सेवा नेपालको व्यवस्थापनमा आयोजित एक कार्यक्रमका बीच उक्त राहत सामग्री वितरण गरिएको हो।
बढ्दो चिसो र शीतलहरका कारण जोखिममा परेका नागरिकहरूको स्वास्थ्य र सुरक्षालाई मध्यनजर गर्दै संस्थाले मानवीय सहायता उपलब्ध गराएको हो।
कार्यक्रममा जिराभवानी–१ का वडा अध्यक्ष रामशरण खवास, संस्थाकी संरक्षक पद्मा देवी सरावगी, सदस्य सुमन बगेडीया, समाजसेवी रेनु सर्राफ, नेहा सर्राफ, सामाजिक अभियन्ता प्रकाश थारू लगायत सुरक्षा निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
सशस्त्र प्रहरी निरीक्षक हरि चन्द्र खड्का र प्रहरी सहायक निरीक्षक अवधलाल साह सहितका अतिथिहरूले संयुक्त रूपमा १०० थान कम्बल हस्तान्तरण गरेमन थिए ।
संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगीले जाडोको समयमा समाजका कमजोर वर्गलाई न्यानोपन र सहारा दिनु संस्थाको प्रमुख कर्तव्य भएको बताईन् ।
उनले आगामी दिनमा पनि यस्ता सहयोगका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन् । कार्यक्रममा बोल्दै वडा अध्यक्ष खवासले उपकार सेवा नेपालले यसअघि पनि यस वडाका आगलागी पीडित, मठमन्दिर र विपन्न वर्गलाई निरन्तर सहयोग गर्दै आएको स्मरण गराए ।
सोही अवसरमा उपकार सेवा नेपालले वडाका चार जना अपाङ्गता भएका व्यक्तिहरूलाई ह्वीलचेयर समेत प्रदान गरेको जानकारी दिइएको थियो।
सामाजिक अभियन्ता प्रकाश थारूले यस्ता मानवीय कार्यले समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्ने उल्लेख गर्दै अन्य सहयोगी हातहरूलाई पनि अगाडि बढ्न आग्रह गरे ।
