वीरगंज । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साले मधेश आन्दोलनका ‘जिउँदो सहिद’ मन्सी पटेलको परिवारलाई विशेष मानवीय सहयोग प्रदान गरेको छ।
वीरगंज महानगरपालिका–२८ बगही निवासी ३६ वर्षीय पटेलको अवस्थालाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपाल नं। १३ गण हेडक्वार्टर पर्साले न्यानो कपडा, खाद्यान्न सामग्री वितरण गर्नुका साथै पटेलको नवनिर्मित घरमा विद्युतीय वायरिङ गरेर पंखा समेत प्रदान गरेको छ ।
२५औँ सशस्त्र प्रहरी दिवस २०८२ को अवसरमा १३ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द्र भट्टले पटेलको निवासमै पुगेर उनलाई न्यानो कपडा (कम्बल) र खाद्यान्न सामग्री वितरण गरेका थिए ।
सोही क्रममा विभिन्न सहयोगी हातहरूको सहयोगमा मधेस प्रदेश सरकारले उपलब्ध गराएको बजेटबाट निर्माण भएको पटेलको ३ कोठे जस्ताको घरमा हालसम्म विद्युतको व्यवस्था नभएको जानकारी पाएपछि गणपति भट्टले सशस्त्र प्रहरीको तर्फबाट विद्युतीय वाइरिङ गरिदिएका छन् ।
सशस्त्र प्रहरी बल नेपाल, १३ गणबाट खटिएको प्राविधिक टोलीले पटेलको घरका तीनवटै कोठा र बाहिरी भागमा पूर्ण रूपमा विद्युतीय वाइरिङ सम्पन्न गरेको छ। पंखा समेत जडान गरिदिएको सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक मोहनराज निरौलाले जानकारी दिए ।
लामो समयदेखि कष्टकर जीवन बिताइरहेका पटेललाई सशस्त्र प्रहरीले देखाएको यो मानवीय सहयोगले उनको दैनिक जीवनमा ठूलो राहत पुग्ने विश्वास लिइएको छ।
सुरक्षासँगै सामाजिक उत्तरदायित्व वहन गर्ने सशस्त्र प्रहरीको यो कार्यको स्थानीय स्तरमा प्रशंसा भएको छ।

