वीरगन्ज । वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले सामाजिक संस्कार र मानसिकतामा परिवर्तन नआई दिगो आर्थिक समृद्धि हासिल गर्न नसकिने बताएका छन् ।
वीरगंजमा आयोजित ‘आत्मनिर्भर समृद्ध वीरगंज–एक विराट सम्भावना’ विषयक बृहत् अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।
मेयर सिंहले आर्थिक सुधारका लागि सामाजिक जग बलियो हुनुपर्नेमा जोड दिँदै युवाहरूलाई कसैको प्रभाव वा दबाबमा नपरी सकारात्मक र सिर्जनात्मक कार्यमा लाग्न आग्रह गरे ।
‘वैभव वीरगंज’ निर्माणका लागि सरोकारवालाहरूबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उनले संघीय सरकारले वीरगंजलाई केवल ढुवानी मार्गको रूपमा मात्र प्रयोग गरेको र यहाँका नागरिकले धुलो–धुवाँ खेप्नुपरे पनि अपेक्षित सुविधा नपाएको भन्दै असन्तुष्टि दोहो-याए।
कार्यक्रममा मधेश विश्वविद्यालयका उपकूलपति प्राध्यापक डा. दीपक शाक्यले अब जागिर खोज्ने भन्दा पनि रोजगारी सिर्जना गर्ने उद्यमी संस्कारको विकास गर्नुपर्ने धारणा राखे ।
त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानीले तराई–मधेश द्रुत मार्ग निर्माणपछि वीरगंजको विकासमा थप तीव्रता आउने विश्वास व्यक्त गरे ।
उनले आईसीपी र सुख्खा बन्दरगाह जस्ता संरचना भए पनि त्यसको प्रत्यक्ष लाभ शहरले लिन नसकेको तर्फ ध्यानाकर्षण गराए ।
वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतमले भने सरकार निजी क्षेत्रमैत्री नहुँदा र करको बोझ बढ्दा उद्योगी व्यवसायीहरू पलायन हुने अवस्था सिर्जना भएको भन्दै चिन्ता व्यक्त गरे ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी सुदिपराज पाठकले वीरगंजको आर्थिक पहिचान जोगाउन बढ्दो अतिवादलाई नियन्त्रण गर्दै उपलब्ध सम्भावनाहरूको उचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।
वीरगन्ज कलेजका अध्यक्ष डा.दीपेन्द्र कुमार चौधरीले देशको आर्थिक नीति र कार्यान्वयन तहमा नै संस्कारको सुधार आवश्यक रहेको बताए । उनले व्यक्तिको आचरण र नीतिगत सुधारले मात्रै आर्थिक संस्कारको सुधार हुने बताए ।
पिङ्क रोज मिडियाद्वारा आयोजित उक्त कार्यक्रममा उद्योगी अशोक वैद्य, नेपाल चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष डा। निरज कुमार सिंह, नेपाल राष्ट्र बैंक वीरगञ्जका निर्देशक सुशिल पौडेल, पर्सा जिल्ला अदालत बार एसोसिएशनका अध्यक्ष रामनारायण कुर्मी लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
अन्तरक्रियामा सहभागीहरुले शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकताका क्षेत्रमा बाहिरिने रकम स्वदेशमै खर्चिने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।
सहभागी उद्योगी, चिकित्सक, अर्थविद् र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले शिक्षा र स्वास्थ्यका लागि बाहिरिने रकमलाई स्वदेशमै रोक्ने वातावरण बनाउनुपर्ने सुझाव दिएका थिए।
संस्थाकी अध्यक्ष अमृता पाण्डे र प्रबन्ध निर्देशक राजेश महर्जनले आर्थिक चेतना र सहकार्यमार्फत वीरगंजको सम्भावनालाई यथार्थमा बदल्न कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

