हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले दुई जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ। हेटौंडास्थित जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीका अनुसार विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय काट्न बाँकी रहेका उनीहरूलाई २०८२ पुस २४ गते पक्राउ गरिएको हो।
पक्राउ पर्नेहरूमा बैंकिङ कसुर मुद्दाकी प्रतिवादी हेटौंडा उपमहानगरपालिका वडा नं.१३ बस्ने ४४ वर्षीया सरिता घलान र चेक अनादर मुद्दाकी प्रतिवादी सोही उपमहानगरपालिका वडा नं. ५ बस्ने प्रभा राई रहेका छन्।
सरिता घलानलाई अदालतले १५ दिन कैद र १ लाख ४५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो भने प्रभा राईलाई ७ दिन कैद र १५ लाख रुपैयाँ जरिवाना तोकिएको थियो।
फैसलापछि फरार रहेका उनीहरूलाई प्रहरी टोलीले विशेष खोजतलास गरी पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनालाई फैसला कार्यान्वयनका लागि मकवानपुर जिल्ला अदालत हेटौंडामा बुझाइएको प्रवक्ता प्रहरी नायव उपरीक्षक बोगटीले जनाए ।
मकवानपुर प्रहरीले पछिल्लो समय फैसला कार्यान्वयन र फरार प्रतिवादी पक्राउ गर्ने अभियानलाई तीव्रता दिँदै आएको छ।

