बारा | बाराको प्रसौनी गाउँपालिकाबाट प्रहरीले ठूलो परिमाणमा लागू औषध अफिमसहित तीन जनालाई पक्राउ गरेको छ। प्रसौनी गाउँपालिका वडा नं. ०१ स्थित नकटुवामा गरिएको विशेष चेकिङका क्रममा २ किलो २४ ग्राम अफिम फेला परेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय प्रसौनी र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पर्साको संयुक्त टोलीले बिहीबार अपराह्न १६:३० बजे नकटुवास्थित पतञ्जली मार्गमा चेकजाँच गरेको थियो। सो क्रममा पतञ्जलीबाट नकटुवातर्फ जाँदै गरेको
BR01CL6079 नम्बरको कारलाई रोकी खानतलासी गर्दा पछाडिको सिटमा लुकाएर राखिएको दुई पोका (२ किलो २४ ग्राम) अफिम बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा पर्साको बहुदरमाई नगरपालिका वडा नं. ०७ का ३८ वर्षीय निलेश पटेल कुर्मी, वीरगञ्ज महानगरपालिका वडा नं. ११ का ३२ वर्षीय जौवाद अहमद र विन्दावासनी गाउँपालिका वडा नं. ०२ का ४८ वर्षीय शेषनाथ चौरसिया रहेका छन्।
पक्राउ परेका तीनै जनालाई लागू औषधसहित नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ। उनीहरूमाथि लागू औषध नियन्त्रण ऐन अन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइने बताइएको छ।

