काठमाडौं । जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक अन्योल र संवादहीनताका बीच मंगलबार राष्ट्रपति कार्यालय शीतल निवासमा प्रमुख दलका शीर्ष नेताहरूबीच सामूहिक भेटवार्ता भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्की, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकै ठाउँमा भेला भएका हुन्।
जेनजी सरकार गठन भएको तीन महिनापछि पहिलो पटक भएको यो सामूहिक भेटले प्रधानमन्त्री र विपक्षी दलहरूबीच लामो समयदेखि रहेको संवादहीनता तोडेको छ। भेटका क्रममा आगामी निर्वाचन र वर्तमान राजनीतिक संकटका विषयमा छलफल भएको छ।
एमाले अध्यक्ष ओलीले संसद पुनर्स्थापना र सर्वदलीय सरकार गठन गरी संसदबाटै जेनजीका मागहरू सम्बोधन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्। सरकार निर्वाचनको तयारीमा जुटिरहेका बेला प्रमुख दलहरू भने संसद पुनर्स्थापनाको मागसहित सर्वोच्च अदालत पुगेकाले यो भेटघाटलाई राजनीतिक निकासका लागि महत्त्वपूर्ण मानिएको छ।
