काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूको नारा र गीत गाएर मात्रै देशको उन्नति सम्भव नहुने स्पष्ट पारेकी छन्। सोमबार आयोजित सर्वपक्षीय बैठकलाई सम्बोधन गर्दै उनले विकास र सुशासन नै सरकारको मुख्य प्राथमिकता रहेको बताइन्।
प्रधानमन्त्री कार्कीले देशको विकास रातारात नहुने उल्लेख गर्दै सरकारले क्रमशः परिणाम देखिने गरी काम गरिरहेको दाबी गरिन्। एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित टिप्पणी गर्दै उनले कानुनअनुसार अनुसन्धानका लागि पक्राउ गर्ने व्यवस्था भए पनि मनपरी ढंगले कसैलाई कारबाही नगरिने स्पष्ट पारिन्। “मान्छेलाई समाएर टुँडिखेलमा गोली हान्ने कुरा कानुन होइन, हामी कानुनअनुसार नै अघि बढ्छौँ,” उनले भनिन्।
आफू सरकारमा आएपछि भ्रष्टाचारविरुद्ध ठोस कदम चालिएको दाबी गर्दै उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालसम्म करिब ४० वटा मुद्दा दर्ता गरिसकेको जानकारी समेत दिइन्।
