पोखरा । पोखरा महानगरपालिकाले सहरी सौन्दर्य अभिवृद्धि र ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन मुख्य सडक किनारमा सञ्चालित वर्कसप, ग्यारेज र कवाडी संकलन केन्द्रहरू हटाउने तयारी सुरु गरेको छ।
महानगरले एक सार्वजनिक सूचना जारी गर्दै पृथ्वी राजमार्गको कोत्रेदेखि सेतीपुलसम्म, सिद्धार्थ राजमार्गको छोरेपाटनदेखि पृथ्वीचोकसम्म र पोखरा–बागलुङ राजमार्गको जिरो किमीदेखि फेदीसम्मका सडक खण्डमा रहेका यस्ता संरचना हटाउन ३५ दिनको समयसीमा तोकेको छ।
सडक किनारका सटर तथा खाली जमिनमा सञ्चालित वर्कसप, कारवास र ग्रिल उद्योगका कारण सवारी आवागमनमा अवरोध पुगेको र बीच सडकमै मर्मतका लागि गाडी रोक्दा ट्राफिक जामको समस्या बढेकाले महानगरले यो कदम चालेको हो। महानगर प्रमुख धनराज आचार्यका अनुसार वातावरणीय स्वच्छतामा समेत प्रतिकूल प्रभाव परेकाले यी व्यवसायलाई अन्यत्र व्यवस्थापन गर्नुपर्ने देखिएको छ।
यसैगरी, सडकपेटीमा सामग्री राख्ने हार्डवेयर पसल र अन्य व्यवसायीलाई समेत तत्काल सडक खाली गर्न निर्देशन दिइएको छ। तोकिएको समयभित्र अटेर गरेमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिँदै महानगरले यस अभियानमा सहयोग गर्न घरधनी र नागरिक समाजलाई अपिल समेत गरेको छ।
