वीरगन्ज । ५० डिग्री घामको तातो रापभन्दा पनि तातो गरी अहिले सामाजिक सञ्जालमा शिक्षामन्त्री डा. महाविर पुनको एउटा पोस्टले चर्चा पाएको छ।
नेकपा एमालेको ११ औं महाधिवेशनमा नेतृत्व छान्न भइरहेको मतदानमा अध्यक्ष केपी शर्मा ओलीलाई भोट हाल्न ४० मिनेट लागेको खबर बाहिरिएपछि मन्त्री पुनलाई यो कुरा ‘हल्का रमाइलो’ भन्दा बढी ‘अचम्मको रेकर्ड’ लागेको छ।
एमालेका कार्यकर्ताहरू आफ्ना नेता छान्न लाइनमा बसेर थाकेका बेला, अध्यक्ष ओलीले भने मतपत्रसँग झन्डै पौने घण्टा ‘अन्तरवार्ता’ नै लिएको शैलीमा समय खर्चिएपछि मन्त्री पुनले फेसबुकमा व्यंग्यको बाण प्रहार गरेका हुन्।
उनले सिधै प्रस्ताव गरेका छन् कि अब यो घटनालाई ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा दर्ता गराउन ढिला गर्नु हुँदैन। एउटा व्यक्तिलाई आफ्नै पार्टीको चुनावमा भोट हाल्न ४० मिनेट लाग्नु भनेको सामान्य कुरा नभएर विश्वकै दुर्लभ घटना भएको उनको तर्क छ।
हुन पनि हो, एउटा मान्छेले ४० मिनेटमा त सामान्यतया एउटा पूरा परीक्षा दिन्छ वा कतिपयले त खाना खाएर एक छिन सुसेली समेत मारिसक्छन्।

तर ओलीजीले कुन उम्मेदवारको नाम कसरी लेख्ने वा कुन छाप कसरी लगाउने भनेर जुन ‘गहन अनुसन्धान’ मतदान केन्द्रभित्रै गर्नुभयो, त्यसले शिक्षामन्त्रीलाई पनि कलम चलाउन बाध्य बनायो।
मन्त्री पुनले आफ्नो पोस्टको अन्त्यमा ‘हल्का रमाइलो’ भनेर अलि सफ्ट कर्नर राख्न खोजे पनि उनको व्यंग्यले एमालेको आन्तरिक चुनावको सुस्त गति र प्रविधिको युगमा समेत भएको यो कछुवा गतिको मतदान प्रक्रियालाई नराम्ररी गिज्याएको छ।
