वीरगन्ज । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) वीरगञ्जको आयोजनामा दोस्रो ‘गल्र्सएन्ड जुनियर बोयज टी–१० नकआउट क्रिकेट टुर्नामेन्ट’ बुधबारदेखि सुरु भएको छ।
वीरगञ्जको आदर्शनगर रङ्गशालामा शुरु प्रतियोगिताको वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले उद्घाटन गरेका छन् ।
प्रतियोगिताको उद्घाटन गर्दै मेयर राजेशमान सिंहले विद्यार्थीहरूको शारीरिक र मानसिक विकासका लागि खेलकुद अपरिहार्य रहेको बताउँदै महानगरपालिका खेलकुद प्रवर्द्धनमा सधैं तत्पर रहने प्रतिबद्धता व्यक्त गरे ।
प्रतियोगिताको पहिलो दिन सम्पन्न दुई खेलहरूमा जुनियर बोएजतर्फ एमईएस सेकेन्डरी स्कूल र गर्ल्सतर्फ ओम नेशनल एकेडेमीले जित निकाल्दै सुखद सुरुआत गरेका छन्।
जुनियर बोएजतर्फ भएको पहिलो प्रतिस्पर्धामा एमईएस सेकेन्डरी स्कूलले ओम नेशनल एकेडेमीलाई १२ रनले पराजित गर्यो।
८ ओभरमा छोट्याइएको खेलमा पहिले ब्याटिङ गरेको एमईएसले ८ विकेटको क्षतिमा ५५ रन बनाएको थियो, जसमा एमडी साहिलले ११ रन र अब्दुल कादिरले ८ रनको योगदान दिए।
५६ रनको लक्ष्य पछ्याएको ओम नेशनल एकेडेमीले निर्धारित ८ ओभरमा ६ विकेट गुमाउँदै ४४ रन मात्र बनाउन सक्यो। खेलमा उत्कृष्ट प्रदर्शन गरेका एमडी साहिल ‘प्लेयर अफ द म्याच’ घोषित भए।
गर्ल्स क्रिकेटतर्फ भने ओम नेशनल एकेडेमीले मिनिल्याण्ड स्कूलमाथि ८ विकेटको शानदार जित हात पार्दै बदला लियो।
पहिले ब्याटिङ गरेको मिनिल्याण्डले ८ ओभरमा ६ विकेट गुमाउँदै ६० रन जोडेको थियो, जसमा प्रतिमा थारुले १८ र श्रेय सिंहले १५ रन बनाइन्।
जवाफी ब्याटिङमा ओर्लिएको ओम नेशनलले प्रेग्या क्षेत्रीको अविजित ४३ रनको मद्दतले सहजै लक्ष्य पूरा गर्यो।
बलिङतर्फ ३ विकेट र ब्याटिङतर्फ ४३ रन प्रहार गरेकी प्रेग्या क्षेत्री खेलको ुप्लेयर अफ द म्याचु बन्न सफल भइन्।
प्याब्सन वीरगञ्जका अध्यक्ष राहुल श्रीवास्तवको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा ३६ विद्यालयका ७७० जना खेलाडीहरूको सहभागिता रहेको छ।
छात्रा तथा जुनियर तहका विद्यार्थीहरूमा खेलकुदप्रति रुचि जगाउने र भविष्यका खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजित यस प्रतियोगितामा ३३६ छात्रा र ४३४ छात्रहरूले प्रतिस्पर्धा गरिरहेका प्याब्सन महानगर सचिव अमित आलोकले जानकारी दिए ।

