काठमाडौँ । ‘सुरक्षित आकाश’ मूल नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस विश्वका विभिन्न मुलुकमा मनाइँदैछ। विशेषगरी अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन ९आइकाओ० का सदस्य राष्ट्रहरूले यो दिवसलाई विशेष महत्वका साथ मनाउने गरेका छन्।
सन् १९९४ को डिसेम्बर ७ मा आइकाओ स्थापनाको ५०औँ वार्षिकोत्सवको अवसर पारेर यस दिवसको मनाउन प्रारम्भ गरिएको थियो। यसको दुई वर्षपछि संयुक्त राष्ट्रसङ्घको महासभाले डिसेम्बर ७ लाई औपचारिक रूपमा अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवसको मान्यता प्रदान गरेको थियो।
यो दिवसले अन्तरराष्ट्रिय हवाई सेवाले विश्वका विभिन्न मुलुकहरूको सामाजिक तथा आर्थिक विकासमा पुर्याएको योगदान र मानव जातिको यात्रालाई सहज बनाउन विश्वव्यापी द्रुत यातायात सञ्जाल निर्माणमा आइकाओको भूमिकालाई स्मरण गर्ने गर्दछ।
आइकाओका अनुसार आगामी २०३० मा दिगो विकासका लक्ष्यहरू हासिल गर्ने सन्दर्भमा हवाई सेवाले विश्वका विभिन्न राष्ट्रहरूलाई जोड्ने प्रमुख माध्यम भएकाले यस दिवसको सान्दर्भिकता अझ बढेको छ।

